गाैशाला, भदौ २६ गते ।
महोत्तरीको गौशालामा बालबालिकामाथि पर्ने सामाजिक प्रभाव, अधिकार सुनिश्चितता तथा स्थानीय तहको जिम्मेवारीबारे छलफल गर्न ‘बाल कचहरी’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गौशाला नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारी तथा नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत नगर बाल क्लब संजाल, गौशालाले आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले सहभागी बालबालिकाहरुले राखेका विभिन्न जिज्ञासा र सवालहरूको जवाफ दिनुभयो । बालबालिकाहरूले बालअधिकार, विद्यालय तथा समुदायमा आफूहरूले भोगिरहेका समस्या र आवश्यक सुधारका विषयमा आफ्ना माग र सुझावहरू राखेका थिए । साथै बालबालिकाले उठाएका मागहरुलाई चालू आर्थिक वर्षमा समावेश गरि कार्य योजनामा लागू गरिए पनि बाँकीका मागहरुलाई कार्य योजना बनाई लागू गर्ने प्रतिवद्धता पनि नगर प्रमुखले गर्नुभयो ।
नगरपालिकाका सबै शाखाका प्रमुख तथा प्रतिनिधिहरू समेत उपस्थित रही बालबालिकाका प्रश्नहरूलाई गम्भीरतापूर्वक सुनेर सोहीअनुसार जवाफ दिएका थिए ।
बालबालिकाहरूले नगर स्तरीय बाल भेला सञ्चालनका लागि बजेटको सुनिश्चितता, दुर्व्यवहार न्यूनीकरणका लागि टोल–टोलमा जनचेतनामूलक कार्यक्रम तथा साइनबोर्डकाे व्यवस्था, विद्यालय वरपर धूम्रपानजन्य सामग्री बिक्रीमा रोकलगाउने प्रभावकारी कदम, शिक्षक–अभिभावक–वडा कार्यालय–प्रहरी तथा बालबालिकाबिच धूम्रपान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन, खेलकुद सामग्री र खेल मैदानसँगै खेलाडीका लागि कोचको व्यवस्था जस्ता मागहरू प्रस्तुत गरेका थिए ।
त्यसैगरी विद्यालयमा सेनेटरी प्याड, विज्ञान प्रयोगशाला तथा योग्य विज्ञान शिक्षकको व्यवस्था, विद्यालयमा बगैंचा निर्माणका लागि बजेट व्यवस्थापन तथा दलित, विपन्न र जोखिममा रहेका परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्न आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सुझाव पनि आएका थिए ।
नगर बाल क्लब संजालका अध्यक्ष मनिष यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख डा. महतो, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारी, शिक्षा तथा खेलकुद शाखाका अधिकृत संजय कुमार सिंह, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार महतो, महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा अन्य शाखाका पदाधिकारीहरू लगायत नगर संजालका बालबालिकाहरु, विभिन्न विधालयहरुका बाल क्लबकाे प्रतिनिधि, नगरपालिकाभित्र रहेका विभिन्न बाल क्लबका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।









