बर्दिवास, भदौ २६ गते ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्दै आयोजना निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

शुक्रबार बर्दिवास नगरपालिका–४ माइस्थानमा प्रस्तावित मेडिकल कलेज निर्माणस्थलमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पोखरेलले कलेज बन्ने–नबन्ने विषयमा फैलिएका आशंकाले चिन्ता बढाए पनि अब त्यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।

उनले चालु आर्थिक वर्षको बजेटमा मेडिकल कलेज निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिँदै आवश्यक थप बजेट सुनिश्चित गर्न आफूले पहल गरिरहने प्रतिबद्धता जनाए ।

मन्त्री पोखरेलका अनुसार मन्त्रिपरिषद्ले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको अवधि एक वर्ष थप गरेको छ। उनले आयोजना अघि बढाउँदै निर्माण सम्पन्न गर्न करिब तीनदेखि चार वर्ष लाग्न सक्ने बताए ।

छलफलमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले मेडिकल कलेज निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै प्रयास गर्ने बताए ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले निर्माण कार्य समयमै सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले प्रस्तावित स्थलमा मेडिकल कलेज निर्माणका लागि स्थानीय जनता सकारात्मक रहेको उल्लेख गर्दै आयोजनालाई अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग रहने बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार