ईलाम : कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको अटो दुर्घटनामा मृत्यु भएको छ।
इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा बिहीबार साँझ अटो दुर्घटनापछि आगलागी हुँदा गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासका अनुसार इलाम नगरपालिका–७ तिल्केनी घर भएकी तथा फाकफोकथुम–६ हाङ्मासुली माइती भएकी २७ वर्षीया कविता श्रेष्ठको शुक्रबार बिहान ६ बजे बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। उनकी ८ वर्षीया छोरी खुसीका नामले चिनिने सुस्मिता श्रेष्ठको बिहीबार राति ८ः१५ बजे सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
साँझ करिब ५ बजे मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्र–०३–००३ ह ६९६७ नम्बरको अटो अचानक अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेको थियो। दुर्घटनापछि पेट्रोल लिकेज भएर अटोमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी आमा–छोरीसहित अटोमा सवार अन्य यात्रु घाइते भएका थिए। गम्भीर घाइते भएका अटो चालक फाकफोकथुम गाउँपालिका–६ पोखरी बजारका ३५ वर्षीय लोकबहादुर श्रेष्ठको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका थिए। अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ। कुशे औँसीका अवसरमा बुवाको मुख हेर्न माइती जाने क्रममा आमा–छोरी दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ।
आमाको माइती हाङ्मासुली रहेकाले उनीहरू त्यतर्फ जाँदै गरेको बताइएको छ।दुर्घटनामा मृत्यु भएका आमा–छोरीको शव बी एन्ड सी अस्पतालमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

