विराटनगर : विराटनगरमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा ४५ वर्षीय चालकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३, पोखरीया स्कुलनजिक बिहान करिब १ः५५ बजे को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। कञ्चनबारीबाट भट्टाचोकतर्फ जाँदै गरेको मोटरसाइकल अचानक अनियन्त्रित भएर सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विराटनगर–९ बसपार्कका रविकुमार कामत गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचार भइरहेका क्रममा बिहान करिब २ः३० बजे कामतको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।
मोटरसाइकल अनियन्त्रित हुनुको वास्तविक कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

