राजविराज: गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गर्भवती महिलाले समयमै स्वास्थ्य सेवा नपाउँदा अस्पतालको मूल गेटबाहिरै बच्चा जन्माउन बाध्य भएको भनिएको घटनाबारे इन्सेकले स्थलगत अनुगमन गरेको छ ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानसहित मानवअधिकारकर्मीको टोलीले भदौ २६ गते अस्पताल पुगेर घटनाको स्थलगत अध्ययन गरेको हो। राजविराज नगरपालिका–१४ की ३० वर्षीया बबिता देवी पासवानले भदौ २३ गते अस्पतालबाट समयमा स्वास्थ्य सेवा नपाएको आरोप लगाउँदै अस्पताल परिसरको मूल गेटबाहिरै बच्चा जन्माएकी थिइन् ।

अनुगमन टोलीले पीडित बबिता देवी पासवानसँग अस्पताल परिसरमै भेट गरी घटनाबारे विस्तृत जानकारी लिएको थियो। पासवानले आफूलाई अस्पतालमा अमानवीय व्यवहार गरिएको दाबी गर्दै घटनामा संलग्न जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न माग गरेकी छन् ।

टोलीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झासँग पनि घटनाबारे जानकारी लिएको थियो। डा. झाका अनुसार घटनाको आन्तरिक छानबिन गर्न अस्पतालले भदौ २५ गते समिति गठन गरिसकेको छ भने माथिल्लो निकायबाट समेत अनुसन्धान भइरहेको छ ।

घटनाका दिन ड्युटीमा रहेका चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजबाट हटाइएको जानकारी पनि डा. झाले दिएका छन्। अस्पतालको तर्फबाट भएको कमजोरीबारे छानबिन भइरहेको र प्रतिवेदनका आधारमा थप आवश्यक निर्णय गरिने उनले बताए ।

इन्सेक मधेस प्रदेश संयोजक पासवानले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको संवैधानिक मौलिक हक भएको बताए। उनले आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिकलाई वञ्चित गर्न नहुने संवैधानिक व्यवस्था कार्यान्वयनमा सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

अनुगमन टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी मोहरा, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र इन्सेक सप्तरी जिल्ला प्रतिनिधि नवीन यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार