नवलपरासी (पूर्व) — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा बिहान करिब ६ः५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको पुरानो चितवन मेडिकल कलेज र केहीको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते हुनेमा लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोट तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैंडाकोट नगरपालिका–५ की ६० वर्षीया लिला थापा रहेका छन् ।

त्यस्तै, लु.२ ख ६०३६ नम्बरको बसमा सवार चालक चितवन भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ, गैंडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैंडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैंडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली र उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली, चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट घाइते भएका छन् ।

पुरानो चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बाराको कलैया उपमहानगरपालिका–९ का ६० वर्षीय मोहन भैया साह, भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का र उनकी करिब ५५ वर्षीया श्रीमती अमृता खड्का रहेका छन् ।

त्यस्तै, रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैंडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैंडाकोट–६ की करिब ४३ वर्षीया मिरा आचार्य पनि घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार