गाैशाला, भदौ २७ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका – १२ कान्तिबजारस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा दुध संकलन तथा बजारीकरणका विषयमा बृहद् छलफल गरिएको छ । छलफलमा संस्थाले दुध क्षेत्रमा भोग्दै आएका समस्या, किसानका कठिनाइ तथा दूधको बजारीकरणमा देखिएका चुनौतीबारे विस्तृत रूपमा छलफल भएको हो ।

काठमाडौंबाट अनुगमनका लागि पुगेका साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा विश्व किसान संगठनका सञ्चालक खेमबहादुर पाठक, नेपाल कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेती, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरण पाण्डे, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, बर्दिबास शाखाका प्रमुख तथा दुध विकास संस्थानका प्रतिनिधिहरूसँग सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष हरिहर सिंह, डेरी उपसमिति, लेखा समिति, सल्लाहकार समिति लगायतको उपस्थितिमा छलफल भएको हो ।

छलफलमा सहकारी संस्थाले दुग्ध संकलन र बजारीकरणका क्रममा सामना गरिरहेका विभिन्न समस्याबारे अनुगमन टोलीसमक्ष जानकारी गराएको थियो। दूध संकलनमा देखिएका समस्या, उत्पादित दूधको बजारीकरण, किसानले पाउने मूल्य तथा दुध व्यवसायलाई थप व्यवस्थित बनाउने विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।

संस्थाका पदाधिकारीहरूले दुग्ध उत्पादनमा किसानको लगानी र मेहनतअनुसार बजार तथा उचित मूल्यको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए। नियमित रूपमा दूध उत्पादन गर्ने किसानले बजारको समस्या भोग्न नपरोस् र सहकारीमार्फत संकलित दूधको सहज बजारीकरण होस् भन्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

संस्थाबाट उठाइएका समस्या तथा मागबारे सम्बन्धित पदाधिकारीहरूले चासोपूर्वक जानकारी लिँदै आवश्यक पहल गर्ने बताएका छन्। दुध क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी छिट्टै आवश्यक कदम चालिने आश्वासनसमेत उनीहरूले दिएका छन् ।

छलफलपछि सहकारी संस्था र दुध उत्पादक किसानका समस्या समाधान हुने तथा दूध संकलन र बजारीकरणको प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीयस्तरमा दुध व्यवसायको प्रवर्द्धन गर्दै किसानलाई उत्पादनतर्फ थप प्रोत्साहित गर्ने वातावरण निर्माणमा समेत छलफल महत्वपूर्ण हुने सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार