सर्लाहीको कविलासी नगरपालिका–८ मा सामुदायिक विपद् व्यवस्थापन समितिका लागि सञ्चालन गरिएको प्राथमिक उपचार तथा खोज उद्धारसम्बन्धी चारदिने तालिम सम्पन्न भएको छ।

विपद्को समयमा समुदायस्तरमै प्रभावकारी रूपमा खोज तथा उद्धार गर्नुका साथै घाइतेलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा सहभागीहरूलाई विपद्का समयमा अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचारका आधारभूत विधि, खोज तथा उद्धारका सीप, घाइतेको उद्धार तथा उपचारका क्रममा ध्यान दिनुपर्ने विषयलगायत विपद् व्यवस्थापनसम्बन्धी आवश्यक जानकारी र व्यावहारिक सीप प्रदान गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी मलंगवाका रामकिशोर पण्डित नेतृत्वको टोलीले तालिम सहजीकरण गरेको थियो। तालिमका क्रममा सहभागीहरूलाई विपद्का विभिन्न परिस्थितिमा तत्काल उद्धार तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने व्यवहारिक अभ्याससमेत गराइएको थियो।

अपाङ्ग अनाथ, वृद्ध उत्थान समाज नेपालको आयोजनामा सञ्चालित तालिम UK International Development तथा RAIN परियोजनाको आर्थिक सहयोग र कविलासी नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो।

तालिमको उद्घाटन सत्रमा कविलासी नगरपालिकाका नगरप्रमुख ब्रह्मदेव रायको उपस्थिति रहेको थियो। त्यस्तै, समापन कार्यक्रममा DOOPUS-NEPAL का अध्यक्ष रामकैलास महतो, कोषाध्यक्ष नथुनी हलुवाई, शिवनाथ राउत, परियोजनाका तर्फबाट सुजन दाहाल र चिरञ्जीवी पाण्डेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिका महासंघ मधेश प्रदेशका संयोजक मनोज साहलगायतको पनि सहभागिता थियो।

चारदिने तालिम सम्पन्न भएसँगै सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरू विपद्का समयमा समुदायमै तत्काल खोज तथा उद्धार गर्न र आवश्यक प्राथमिक उपचार उपलब्ध गराउन थप सक्षम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार