इन्दल राउत
गाैशाला, भदौ ३० गते ।
विपद्को समयमा पीडित परिवारलाई साथ दिने उद्देश्यले जलेश्वरका युवाहरूले सञ्चालन गरेको राहत अभियान गौशाला नगरपालिका–८ सम्म पुगेको छ। अभियानअन्तर्गत नयाँ नेपाल फाउन्डेसनमार्फत बाढीपीडित सीताबहादुर लुङ्गेलीको परिवारलाई खाद्यान्नसहितका राहत सामग्री हस्तान्तरण गरिएको हो ।

रसुवामा आएको बाढीबाट प्रभावित महोत्तरीका परिवारलाई सहयोग गर्ने उद्देश्यले जलेश्वरका युवाहरूले व्यक्तिगत तथा सामूहिक पहलमा राहत संकलन अभियान सञ्चालन गरेका हुन्। संकलित सहयोगलाई प्रभावित परिवारको तत्कालीन आवश्यकताअनुसार वितरण गर्न थालिएको अभियानकर्मीहरूले बताएका छन् ।

राहत हस्तान्तरण कार्यक्रममा स्थानीय युवाहरूले विपद्का बेला सरकारी निकायको सहयोगसँगै नागरिकस्तरबाट हुने सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत पुग्ने बताएका छन्। अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने उनीहरूको भनाइ छ ।

अभियानमा शिवम झा, आकेश पासवान, राहुल शर्मा, राजेश महतो, संजय मण्डल, प्रशान्त झा, सुमन चौधरी, शिवली अंश्वरीलगायत युवाहरू सक्रिय छन्। अभियानको पहिलो चरणमा १० वटा प्रभावित परिवारलाई खाद्यान्नसहित राहत सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यसैबीच, सीताबहादुर लुङ्गेली बाढी आउँदा जेसीबी चलाइरहनुभएको थियो। अचानक बाढीको बहाव बढेपछि ज्यान जोगाउन उहाँ जेसीबीबाट हाम फालेर भाग्नुभएको परिवारले जनाएको छ। सार्वजनिक भएको भिडियोमा पनि उहाँ बाढीबाट बच्न दौडिँदै भागिरहेको देखिन्छ ।

बाढीको जोखिमबीच ज्यान जोगाउन गरिएको संघर्षको उक्त दृश्यले विपद्को भयावह अवस्था झल्काउँछ। परिवारका अनुसार उहाँको अवस्थाबारे चिन्ता कायमै छ। उहाँ सकुशल रहनुभएको होस् भन्ने परिवार, आफन्त र शुभेच्छुकहरूको कामना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार