मोरङ: धनुषाको मिथिला नगरपालिका–७ केमलीपुर निवासी सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दार सुदीप खड्काको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ वीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको बसले खड्काले चलाइरहेको मोटरसाइकललाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।
प्रहरीका अनुसार को १ ख ७९१३ नम्बरको बसले प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकलमा सवार ३६ वर्षीय खड्काको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनापछि तत्काल उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ ६ः५२ बजे चिकित्सकले खड्कालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खड्का सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत हुनुहुन्थ्यो। राष्ट्रसेवामा कार्यरत रहँदै सवारी दुर्घटनामा उहाँको निधन भएपछि परिवार, आफन्त तथा सहकर्मीहरू शोकमा परेका छन् ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

