गाैशाला: सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रकम लिइरहेको आरोपमा महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका एक नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले मंगलबार ती सर्वेक्षकलाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
सिरहा घर भएका र हाल नापी कार्यालय बर्दिबासमा कार्यरत ती सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी गरेको थियो। सोही क्रममा सेवाग्राहीबाट रकम बुझ्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।
पक्राउ परेका सर्वेक्षकलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको छ। उनीमाथि घुस मागेको तथा लिएको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ ।

