गाैशाला: पिपरा गाउँपालिकाले गाउँपालिकाभित्र उपचाररत क्षयरोगका बिरामीको पोषण अवस्था सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले पोषण आहार वितरण गरेको छ ।

गाउँपालिकाको आयोजनामा, बीएनएमटी नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय महोत्तरीको सहकार्यमा सञ्चालित कार्यक्रममा पिपरा गाउँपालिकाभित्र उपचाररत १० जना क्षयरोगका बिरामीलाई पोषण आहार उपलब्ध गराइएको हो ।

क्षयरोगको उपचार अवधिमा बिरामीलाई आवश्यक पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराई उपचारलाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

बिरामीलाई वितरण गरिएको पोषण आहार प्याकेजमा २५ किलो मन्सुली चामल, एक किलो रहरको दाल, एक लिटर सोयाबिन तेल, एक किलो पिठो र १ दशमलव ५ किलो चना समावेश गरिएको छ। त्यस्तै, शाकाहारी बिरामीका लागि एक किलो सोयाबिन तथा मांसाहारी बिरामीका लागि एक क्यारेट अण्डा उपलब्ध गराइएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई भने ४०० ग्रामका सर्वोत्तम पिठोका दुई प्याकेट उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

क्षयरोगका बिरामीलाई औषधि सेवनसँगै पर्याप्त तथा पोषणयुक्त खाना उपलब्ध गराउनु उपचार प्रक्रियाको महत्वपूर्ण पक्ष भएकाले बिरामीको पोषण आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

गाउँपालिकाका अनुसार यो पोषण आहार वितरण कार्यक्रम छ महिनासम्म निरन्तर सञ्चालन हुनेछ। उपचाररत बिरामीलाई नियमित रूपमा आवश्यक सहयोग उपलब्ध गराउँदा स्वास्थ्य अवस्थामा सुधार ल्याउन तथा उपचार पूरा गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

स्थानीय तह, स्वास्थ्य कार्यालय तथा साझेदार संस्थाबीचको सहकार्यमा सञ्चालन भएको कार्यक्रमले क्षयरोग नियन्त्रणसँगै बिरामीको स्वास्थ्य तथा पोषणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार