गाैशाला: महाेत्तरीकाे औरही नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीमाथि भएको हुलहुज्जत, हातपातको प्रयास र तोडफोडको घटनाप्रति गौशाला नगरपालिकाले आपत्ति जनाउँदै घटनामा संलग्नमाथि कानुनी कार्वाही गर्न माग गरेको छ ।

बुधबार बिहान औरही नगरपालिकाको कार्यालयमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले विज्ञप्तिमार्फत औरहीका जनप्रतिनिधि तथा कर्मचारीप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

गौशाला नगरपालिकाका अनुसार बिहान करिब ११ः३० बजे करिब ५० देखि ६० जनाको समूह औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा प्रवेश गरेको थियो। सो क्रममा कार्यकक्षमै हुलहुज्जत तथा हातपात भएको र नगरपालिका परिसरमा तोडफोडसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका क्रममा अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथिसमेत अभद्र व्यवहार र आक्रमणको प्रयास भएको गौशाला नगरपालिकाले जनाएको छ। स्थानीय तह नागरिकका गुनासा तथा माग सम्बोधन गर्ने सार्वजनिक संस्था भएकाले असन्तुष्टि वा माग राख्ने क्रममा कानुनी र शान्तिपूर्ण बाटो अवलम्बन गर्नुपर्ने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले सार्वजनिक कार्यालयमै भौतिक आक्रमण तथा तोडफोड हुनु गम्भीर विषय भएको जनाएको छ। यस्ता घटनाले जनप्रतिनिधि र कर्मचारीलाई सुरक्षित तथा भयमुक्त वातावरणमा नागरिकको सेवा प्रवाह गर्न कठिनाइ उत्पन्न गर्ने भन्दै गौशाला नगरपालिकाले औरही नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीप्रति ऐक्यबद्धता जनाएको हो ।

घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत प्रचलित कानुनअनुसार कारबाही गर्न गौशाला नगरपालिकाले स्थानीय प्रशासन तथा नेपाल सरकारसँग माग गरेको छ। साथै, देशभर स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीले सुरक्षित वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

गौशाला नगरपालिकाले आफ्नो विज्ञप्तिको बोधार्थ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई समेत पठाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार