ढल्केबर: धनुषाको मिथिला नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार एक कार्यक्रमबीच भवनको उद्घाटन गरिएको हो ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी र वडा अध्यक्ष जोगी महतोले संयुक्त रूपमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट वडाको नियमित प्रशासनिक काम तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष जोगी महतोले आफ्नै भवन निर्माण भएपछि कार्यालय सञ्चालन तथा सेवाग्राहीलाई सेवा दिन सहज हुने बताउनुभयो। यसअघि वडा कार्यालयले भोग्दै आएको भौतिक पूर्वाधारसम्बन्धी समस्या नयाँ भवन निर्माणसँगै समाधान भएको उहाँको भनाइ छ ।

भवन निर्माणका लागि आवश्यक एक कट्ठा जग्गा भने पूर्ववडा अध्यक्ष लक्ष्मी महतोले उपलब्ध गराउनुभएको हो। करिब २० लाख रुपैयाँ मूल्य पर्ने जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान गरेको जनाइएको छ ।

वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। नयाँ भवनबाट वडावासीलाई स्थानीय सरकारका सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार