गाैशाला, असाेज १ गते ।
क्षयरोगको उपचारमा रहेका बिरामीलाई पोषणयुक्त आहारको आवश्यकता हुने भएकाले बलवा नगरपालिकाले नगर क्षेत्रका १५ जना क्षयरोगीलाई पोषण खाद्यान्न सामग्री वितरण गरेको छ ।
बलवा नगरपालिका र बीएनएमटी नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नगर प्रमुख राम विजय महतोले उपचाररत १५ जना क्षयरोगी बिरामीलाई पोषण खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
क्षयरोगबाट प्रभावित बिरामीको उपचारलाई प्रभावकारी बनाउन औषधिसँगै पर्याप्त पोषणयुक्त खाना आवश्यक हुने भएकाले उनीहरूको पोषण अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख महतोले क्षयरोगीको उपचारमा नियमित औषधि सेवनसँगै पौष्टिक तथा सन्तुलित आहारको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो। बिरामीको उपचार अवधिमा आवश्यक सहयोग र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय तहले आफ्नो तर्फबाट आवश्यक पहल गर्दै जाने उहाँको भनाइ थियो ।
बीएनएमटी नेपालको सहकार्यमा गरिएको यस कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका क्षयरोगीलाई उपचार अवधिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले क्षयरोग पहिचान, उपचार तथा नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
क्षयरोगीलाई समयमै उपचारको पहुँचमा ल्याउने, उपचारमा नियमितता कायम गराउने तथा पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले यस्ता सहयोगमूलक कार्यक्रम प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।


