काठमाडौं, असोज ३ गते ।
प्रधानमन्त्री वालेन्द्र शाहले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणका लागि सुशासन, पारदर्शिता, सामाजिक न्याय र विकासलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान केवल कागजमा लेखिएको दस्तावेज नभई त्यसको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनमा अनुभूति हुनुपर्ने बताउनुभयो। उहाँले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र इमानदार र सक्रिय नभए संविधानको उद्देश्य पूरा हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले संविधानले विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको लक्ष्य लिएको उल्लेख गर्नुभयो। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई नेपालको राष्ट्रिय जीवनको आधारका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
उहाँले भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसविरुद्ध काम गर्ने शक्ति बलियो हुँदै गएको बताउनुभयो। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त रहेको उल्लेख गर्दै सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक क्षेत्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
“सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो ।
संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शाहले मुलुकको आर्थिक तथा प्रशासनिक विकासलाई नयाँ प्रविधिसँग जोड्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो। नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार विकासलाई त्यसको आधारका रूपमा अघि बढाइने उहाँले बताउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
बाढी तथा विपद्को समयमा उद्धार, राहत तथा सहयोगमा योगदान पुर्याउने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, विभिन्न संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो ।
नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै उहाँले विपद् आइसकेपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीमा जोड दिनुपर्ने बताउनुभयो। विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउँदै पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानको वास्तविक उद्देश्य पूरा गर्ने जिम्मेवारी राज्यका सबै निकाय र नागरिकको भएको बताउनुभयो। इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने प्रभावकारी सेवामार्फत संविधानको मर्म व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारका हरेक कदम ती आकांक्षातर्फ केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शहीदहरूको बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदै सम्पूर्ण नेपालीमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना व्यक्त गर्नुभयो ।


