बारा, असाेज ३ गते ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबुल अगाडि आपसी झै–झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय शेरबहादुर खड्का रहेका छन्। प्रहरीका अनुसार आपसी विवादका क्रममा सोही स्थान बस्ने ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले धारिलो हतियार प्रहार गर्दा खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो ।

धारिलो हतियार प्रहारबाट घाइते भएका खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो ।

अस्पतालमा उपचार भइरहेका खड्काको दिउँसो ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै धारिलो हतियार प्रहार गर्ने भनिएका आयुष राई फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनाको कारण तथा झै–झगडाको वास्तविक अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। फरार व्यक्तिको खोजतलाससँगै घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार