सिरहा: जिल्ला सिरहाको बरियारपपट्टी गाउँपालिका वडा नं. १ कचनारीस्थित नेपाल-भारत सीमा नजिकबाट २२ महिनाअघि ड्युटीमा रहेका स.प्र.ना.नि. लक्ष्मण प्रसाद यादवलाई टाटा सफारी गाडीले ठक्कर दिएर हत्या गरी फरार रहेका मुख्य प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
भारत बिहार राज्यको मधुवनी थाना ललबनियाँ गाउँ घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजतलास तथा नियन्त्रणमा लिने क्रममा मोहम्मद कुर्बानसहित तीन जनाको समूहले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड फायर गरेपछि प्रहरीको जवाबी कारबाहीमा उनको बाँया हातको कुहिना तथा दाहिने खुट्टाको घुँडामा गोली लागेको छ ।
घाइते मुख्य अभियुक्त कुर्बानलाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

