काठमाडौं, असाेज ५ गते ।
भोटेकोशी–त्रिशूली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
गठित समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका प्रभाव, जोखिम तथा त्यसबाट उत्पन्न विपद्का विषयमा अध्ययन गर्नेछ। साथै, भोटेकोशी–त्रिशूली क्षेत्रमा पछिल्लो समय देखिएको बाढी तथा त्यसले पुर्याएको क्षतिबारे समेत अध्ययन गरी सरकारलाई आवश्यक नीतिगत सुझाव दिनेछ ।
समितिलाई अध्ययन तथा आवश्यक प्रतिवेदन तयार गरी आफ्नो काम सम्पन्न गर्न तीन महिनाको समय दिइएको छ। समितिले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु न्याय र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयलाई समेत अध्ययनको दायरामा राख्नेछ ।
संसदीय विशेष समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, निशा डाँगी, ध्रुवराज राई, पुष्पराज कँडेल, मोहन आचार्यलगायत १७ जना सांसद सदस्य रहेका छन् ।
समितिको पहिलो बैठकले सदस्यहरूमध्येबाट सभापति चयन गर्नेछ। समितिले स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा उपलब्ध तथ्य–तथ्यांकको अध्ययनपछि सरकारलाई प्रतिवेदन र नीतिगत सुझाव प्रस्तुत गर्नेछ ।

