परासी, असाेज ५ गते ।
नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा सामान्य विवादपछि भएको कुटपिटमा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
कुटपिटबाट घाइते भएका स्थानीय ३० वर्षीय संजय गुप्ताको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत भदौ २९ गते साँझ करिब ६ः४० बजे संजय मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका थिए। सो क्रममा संजय र सुनिलबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो ।
विवादकै क्रममा सुनिलले संजयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। कुटपिटका कारण संजयको दाहिने कानमा भित्री चोट लागेको थियो भने कानबाट रगतसमेत बगेको थियो ।
घाइते संजयलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।
भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा संजयको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको हो।
घटनालगत्तै प्रहरीले कुटपिटमा संलग्न भनिएका सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सुनिलमाथि घटनाको प्रकृति र उपलब्ध प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्पूर्ण पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ। कुटपिटपछि लागेको चोट र त्यसबाट भएको मृत्युबीचको सम्बन्धलगायतका विषयमा समेत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

