पवन प्रसाद साह
बिरगंज, असाेज ६ गते ।
दक्षिण एसियाली सञ्चारकर्मीबीच आपसी संवाद, सहकार्य र अनुभव आदान–प्रदानलाई थप विस्तार गर्ने उद्देश्यले भारतको बिहार राज्यअन्तर्गत मुंगेर जिल्लाको जमालपुरमा अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलन–२०२६ (Global Media Summit–2026) सम्पन्न भएको छ ।
अल इण्डिया जर्नलिस्ट युनियन (AIJU), भारतको आयोजनामा जमालपुरस्थित सिद्धि विनायक म्यारिज हलमा आयोजित महासम्मेलनमा भारतका राज्यसभा सांसद डा. भीम सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा मुंगेरका विधायक प्रणव कुमारको समेत विशेष उपस्थिति रहेको थियो ।
महासम्मेलनको अध्यक्षता अल इण्डिया जर्नलिस्ट युनियन, भारतका राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटले गर्नुभएको थियो। कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अध्यक्ष राजु लामा, महासचिव अब्दुर्रहमानसहित नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भीम सिंहले पत्रकारिता समाजलाई सूचना, विचार र सत्यतथ्यसँग जोड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले सीमाना फरक भए पनि पत्रकारहरूको जिम्मेवारी समाजलाई सत्य, तथ्यमा आधारित र विश्वसनीय सूचना प्रवाह गर्नु रहेको उल्लेख गर्दै सञ्चारकर्मीबीचको अन्तर्राष्ट्रिय सहकार्यले पत्रकारितालाई अझ जिम्मेवार र प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
उहाँले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले विभिन्न देशका पत्रकारबीच हुने संवाद र सहकार्यले प्रेस क्षेत्रका साझा विषयलाई थप मजबुत ढंगले उठाउन सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै, सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अध्यक्ष राजु लामाले दक्षिण एसियाली मुलुकका पत्रकारबीच नियमित संवाद, सहकार्य र अनुभव आदान–प्रदान आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न देशका पत्रकारलाई एक–अर्काको अनुभव बुझ्ने तथा साझा मुद्दामा सहकार्य गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो ।
लामाका अनुसार दक्षिण एसियाली पत्रकारबीचको सम्बन्ध समाचार आदान–प्रदानमा मात्र सीमित नराखी पत्रकारको अधिकार, व्यावसायिक सुरक्षा, प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रका साझा चुनौतीमा समेत सहकार्य आवश्यक छ। जमालपुरमा सम्पन्न सम्मेलनले यसका लागि थप संवादको वातावरण निर्माण गरेको उहाँको भनाइ थियो ।
महासम्मेलनमा सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका कन्भेनर रुद्र सुवेदी, सह–कन्भेनर मो. आरिफ अन्सारी, बिहार च्याप्टरका अध्यक्ष डा. शशि भूषण कुमार, मधेश च्याप्टर संयोजक मो. सादाब मलिक लगायत सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी सदस्यहरू रमेश चन्द्र कुमाल, अजमत अली, सुशील कुमार खड्का, अभिलाष गुप्ता, पवन प्रसाद साह र अरुण कलवार लगायत विभिन्न देशका पत्रकार तथा सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो ।
महासम्मेलनमा सहभागी पत्रकारहरूले पत्रकारिता र सञ्चार क्षेत्रका समसामयिक विषयमा विचार–विमर्श गर्नुका साथै आ–आफ्ना देश तथा क्षेत्रका अनुभव आदान–प्रदान गरेका थिए। छलफलका क्रममा पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, सञ्चार प्रविधिको तीव्र विकास, पत्रकारको व्यावसायिक तथा सुरक्षासम्बन्धी विषय, प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय सहकार्य र दक्षिण एसियाली सञ्चारकर्मीबीचको सम्बन्ध विस्तारलगायतका विषय उठाइएको थियो ।
सहभागीहरूले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिताको स्वरूपमा आएको परिवर्तनले नयाँ अवसरसँगै विभिन्न चुनौतीसमेत थपिएको बताएका थिए। यस्तो अवस्थामा विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव र अभ्यास आदान–प्रदानले पत्रकारिताको व्यावसायिक विकासमा सहयोग पुग्ने उनीहरूको धारणा थियो ।
जमालपुरमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनले दक्षिण एसियाली पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सम्बन्ध, संवाद र सहकार्यलाई थप सुदृढ बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ ।
महासम्मेलनले विभिन्न देशका सञ्चारकर्मीलाई एउटै मञ्चमा ल्याएर पत्रकारिताका साझा सवालमा छलफल गर्ने अवसर प्रदान गरेको सहभागी पत्रकारहरूले बताएका छन्। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै दक्षिण एसियाली सञ्चारकर्मीबीच नियमित संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन् ।

