काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कका लागि प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्नेछन्।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा जाने कार्यक्रम रहेको छ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले प्रधानमन्त्रीलाई भ्रमण तथा महासभामा नेपालको सहभागितासम्बन्धी विषयमा क्रमशः ब्रिफिङ गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उनी सहभागी हुने कार्यक्रम छ।

भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

महासभासम्बन्धी कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट कतारको दोहातर्फ प्रस्थान गर्नेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँ फर्किने तालिका रहेको छ। उनी सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार