गौशाला, असोज ६ गते ।
गौशालाको क्रिकेट मैदानमा मंगलबार किशोरीहरूको उत्साहजनक सहभागिता देखियो । हातमा ब्याट र बल बोकेर मैदानमा उत्रिएका किशोरीहरूको लक्ष्य केवल प्रतिस्पर्धा गर्नु मात्र थिएन, खेलमार्फत बालविवाह अन्त्यको सन्देश समाजसम्म पुर्याउनु पनि थियो ।
बालविवाह रोकथाम तथा किशोरी सशक्तीकरणका लागि महोत्तरीको गौशालामा किशोरीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) को साझेदारी तथा गौशाला नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।
किशोरीहरूलाई खेलकुदसँग जोडेर उनीहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व सीप विकास गर्ने उद्देश्यले यसअघि क्रिकेट प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । प्रशिक्षणमा श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, गौशालाका ३४ जना र श्री जनता माध्यमिक विद्यालय, भरतपुरका २२ जना गरी ५६ जना किशोरी सहभागी भएका थिए ।
प्रशिक्षणबाट सिकेको सीपलाई मैदानमा प्रस्तुत गर्ने अवसरसँगै किशोरीहरूबीच आपसी सहकार्य र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले चार टोली बनाएर प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि गौशाला जायन्ट्स, गौशाला वारियर्स, गौशाला बोल्ट्स र गौशाला थन्डर्स गरी चार टोली गठन गरिएको छ । मंगलबार पहिलो खेल गौशाला थन्डर्स र गौशाला बोल्ट्सबीच तथा दोस्रो खेल गौशाला जायन्ट्स र गौशाला वारियर्सबीच भएको थियो । मंगलबारका खेलबाट छनोट भएका टोलीबीच बुधबार फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले ब्याटिङ तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) का उपाध्यक्ष सोमबहादुर कार्कीले बलिङ गरेर गरेका थिए ।
कार्यक्रममा खेलकुदलाई किशोरीको क्षमता विकास र सामाजिक सचेतनाको माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो । बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य, अधिकार र भविष्यमा पर्ने असरबारे परिवार तथा समुदायमा निरन्तर सचेतना आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
आयोजकका अनुसार किशोरीहरूलाई खेलकुदमा सक्रिय बनाउँदै उनीहरूमा नेतृत्व गर्ने क्षमता र आत्मविश्वास बढाउनुका साथै बालविवाहविरुद्ध परिवार र समुदायमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
खेलकुदको मैदानबाट दिइएको यो सन्देशले किशोरीहरूलाई आफ्नो अधिकारका विषयमा बोल्न, निर्णय प्रक्रियामा सहभागी हुन र बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने अपेक्षा आयोजकले गरेको छ ।

