काठमाडौँ, असोज ७ गते ।
मौसम विज्ञान विभागले पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहन सक्ने विभागले जनाएको छ ।

सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

पानी परिरहेको समयमा तथा विशेषगरी रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक नजानसमेत आग्रह गरिएको छ ।

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा आफ्नो योजना पुनर्विचार गर्न अनुरोध गरिएको छ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने मौसम र विपद्सम्बन्धी सूचनाहरू नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न विभागले सबै नागरिकलाई आग्रह गरेको छ ।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरिएको छ। विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार