धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु: विजयनगर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम गाउँपालिकाको सभा हल खडैचामा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। त्यस्तै, गाउँपालिकाअन्तर्गतका वडाका सचिवहरूले सम्बन्धित वडाबाट सम्पन्न भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँपालिकासँग सहकार्य गर्दै आएका ८ वटा साझेदार संस्थाले समेत आफ्ना कार्यक्रम, गतिविधि तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। साझेदार संस्थाले गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेका कार्यक्रमको प्रभाव, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले वार्षिक समीक्षा कार्यक्रमले वर्षभरि भएका कामको उपलब्धि र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउन समीक्षा महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समीक्षा कार्यक्रम विगतका कामको मूल्याङ्कनसँगै आगामी कार्यदिशा तय गर्ने अवसर भएको बताउनुभयो। उहाँले नागरिकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी र साझेदार संस्थाबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रस्तुत गरिएका प्रगति विवरणमाथि छलफल तथा अन्तरक्रियासमेत गरिएको थियो। वार्षिक समीक्षाले गाउँपालिकाका शाखा, वडा र साझेदार संस्थाबाट भएका कामको अवस्था पहिचान गर्दै आगामी दिनमा सुशासन, प्रभावकारी सेवा प्रवाह र परिणाममुखी विकासका लागि थप स्पष्ट कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार