बिरगञ्ज, असोज ७ गते ।
नेपाल–भारत सीमावर्ती जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागितामा सीमावर्ती जिल्ला समन्वय समितिको बैठक (BDCC) भारतको रक्सौलमा सम्पन्न भएको छ ।
बुधबार (सेप्टेम्बर २३) भारतको रक्सौलस्थित इन्टिग्रेटेड चेक पोस्ट (ICP) मा आयोजित बैठकमा नेपालतर्फका पर्सा, बारा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारी (DM) तथा सुरक्षा निकायका पदाधिकारीहरू पनि बैठकमा सहभागी भएका थिए।
बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो ।
विशेषगरी अन्तरदेशीय अपराध नियन्त्रण, मानव तस्करी तथा लागूऔषधको ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा हुन सक्ने अन्य गैरकानुनी गतिविधि रोकथाम र त्यसका लागि दुवै देशका सुरक्षा निकायबीच आवश्यक समन्वय तथा सहकार्य बढाउने विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको थियो ।
त्यसैगरी, सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती तथा अपराध नियन्त्रणका लागि आवश्यक सूचना समयमै आदान–प्रदान गर्ने र नेपाल तथा भारतका सीमावर्ती जिल्लाका प्रशासन एवं सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
बैठकले सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वय कायम गर्न दुवै देशका सम्बन्धित निकायबीच निरन्तर सम्पर्क तथा सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।


