राजेश सिंह
गौशाला, असोज ७ गते ।
बालविवाह अन्त्यका लागि सचेतना फैलाउने उद्देश्यले महोत्तरीको गौशालामा किशोरीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (सीडीएएफएन) को साझेदारी तथा गौशाला नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नति कार्यक्रमअन्तर्गत किशोरीहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
बालविवाह अन्त्यका लागि गौशाला नगरपालिका अन्तर्गतका श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, गौशालाका ३४ जना र श्री जनता माध्यमिक विद्यालय, भरतपुरका २२ जना गरी जम्मा ५६ जना किशोरीलाई ६० दिनसम्म क्रिकेट प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई क्रिकेट प्रशिक्षण प्रदान गरी उनीहरूको खेलकुद क्षमता विकास गर्नुका साथै बालविवाहविरुद्धको सन्देश समुदायसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताका लागि गौशाला जायन्ट्स, गौशाला वारियर्स, गौशाला बोल्ट्स र गौशाला थन्डर गरी चारवटा टोली गठन गरिएको थियो । प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेल गौशाला थन्डर र गौशाला बोल्ट्स तथा दोस्रो खेल गौशाला जायन्ट्स र गौशाला वारियर्सबीच भएको थियो ।
आजको खेलमा गौशाला जायन्ट्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ६९ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य गौशाला थन्डरले ११.१ ओभरमा पूरा गर्दै जित हात पारेको थियो ।
गौशाला जायन्ट्सका तर्फबाट तोफा खातुनले सर्वाधिक २४ रन बनाएकी थिइन्। यस्तै, गौशाला थन्डरका काजल महतोले सर्वाधिक २६ रन तथा गिना महतोले १६ रन बनाउँदै एक विकेटसमेत लिएकी थिइन् । उनीहरूको प्रदर्शनले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
क्रिकेट खेलमार्फत किशोरीहरूको क्षमता विकास, नेतृत्व सीप अभिवृद्धि र आत्मविश्वास बढाउनुका साथै बालविवाह अन्त्यका लागि परिवार तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा गौशाला नगरपालिका–११ का वडाध्यक्ष रामपृत महतो तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (सीडीएएफएन) का उपाध्यक्ष सोमबहादुर कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रममा बालविवाह रोकथाम, किशोरी सशक्तीकरण, नेतृत्व विकास तथा खेलकुदका माध्यमबाट सकारात्मक सामाजिक परिवर्तनका विषयमा जोड दिइएको थियो ।
सहभागी किशोरीहरूलाई खेलकुदका माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै सामाजिक विकृति तथा बालविवाहविरुद्ध आवाज उठाउनसमेत प्रोत्साहित गरिएको थियो ।
आयोजकका अनुसार किशोरीहरूलाई खेलकुदसँग जोडेर उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै बालविवाहविरुद्ध परिवार र समुदायस्तरमा सचेतना फैलाउने अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

