चमेली सिंह
गौशाला, असोज ८ गते ।
सम्भावित भारी वर्षा, हावाहुरी, बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै असोज ८ र ९ गते दुई दिन सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयको पठनपाठन बन्द रहने जनाएको हो ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली तथा सम्भावित चक्रवातको प्रभावका कारण मधेश प्रदेशलगायतका क्षेत्रमा अत्यधिक भारी वर्षा, हावाहुरी, बाढी र डुबानको उच्च जोखिम रहेको मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी पूर्वतयारी सूचनाबाट जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

मौसम प्रतिकूल बनेपछि विद्यालय आउने–जाने क्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई कठिनाइ हुनुका साथै सुरक्षामा समेत जोखिम हुनसक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीद्वारा जारी सूचनामा असोज ८ र ९ गते अन्य बिदाबाट कक्षा सञ्चालन हुने गरी पठनपाठन बन्द राख्न नगर क्षेत्रका सबै विद्यालयलाई निर्देशन दिइएको छ ।

नगरपालिकाले निर्णय कार्यान्वयनका लागि नगर प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखा, वडा कार्यालय तथा नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार