गौशाला, असोज ८ गते ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत महोत्तरीको गौशाला नगरपालिकामा वडा, नगर तथा प्रदेश तहका अधिवेशनहरू सर्वसम्मत रूपमा सम्पन्न भएका छन्। विभिन्न तहमा नेतृत्व चयन गर्दै अधिवेशनले पार्टीभित्र सहमति, एकता र सहकार्यको सन्देश दिएको कांग्रेसका नेता–कार्यकर्ताहरूले बताएका छन् ।

गौशाला नगर समितिको सभापतिमा युवा नेता राजकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नगर समितिको नेतृत्वमा श्रेष्ठ चयन भएसँगै आगामी दिनमा संगठनलाई थप सक्रिय र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, महोत्तरी क्षेत्र नं. १(ख) को प्रदेश सभापतिमा राधेश्याम भगत दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। भगतको पुनः नेतृत्व चयनलाई पार्टी संगठनमा निरन्तरता र सहमतिको अभ्यासका रूपमा लिइएको छ ।

गौशाला नगरपालिकाका १२ वटै वडामा समेत वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट गौशाला–१ मा जयराम भारती, २ मा रामचन्द्र चौधरी, ३ मा लालबाबु साह, ४ मा श्याम महतो, ५ मा जीवन मगर, ६ मा केदार यादव, ७ मा चनरदेव चौधरी, ८ मा सुरेश महतो, ९ मा सजन सिंह, १० मा रामदुलार यादव, ११ मा अशोक कुमार महतो र १२ मा वीरेन्द्र महतो वडा सभापतिमा चयन भएका छन् ।

वडा तहदेखि नगर तथा प्रदेश तहसम्म प्रतिस्पर्धाबिनै नेतृत्व चयन भएपछि कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले यसलाई पार्टीभित्रको सहमति र सहकार्यको सकारात्मक अभ्यासका रूपमा लिएका छन्। उनीहरूले सर्वसम्मत नेतृत्व चयनले संगठनभित्रको एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने बताएका छन् ।

नवनिर्वाचित सभापति तथा पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा संगठन विस्तार, पार्टी एकता, लोकतान्त्रिक संस्कारको संरक्षण तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार