बिरगञ्ज, असोज ८ गते ।
पछिल्लो समयको मौसम अवस्था र सम्भावित भारी वर्षाका कारण बाढी, डुबान लगायतका विपद्को जोखिम बढ्न सक्ने भन्दै पर्सामा विपद् पूर्वतयारी तथा प्रतिकार्य व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साको समन्वयमा असोज ८ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

बैठकले जिल्लाको पछिल्लो मौसम अवस्था तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय कायम गर्ने निर्णय गरेको छ ।

समितिले विपद् पूर्वतयारीसँगै जोखिमयुक्त क्षेत्रको पहिचान तथा निगरानी, खोज तथा उद्धारका लागि आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राख्ने र विपद् उत्पन्न भएमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, सम्भावित बाढी तथा डुबानबाट बढी प्रभावित हुन सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउने, स्थानीय तह तथा सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र आपत्कालीन अवस्थामा शीघ्र प्रतिकार्यका लागि समन्वय गर्ने विषयमा समेत बैठकले जोड दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। साथै, विपद्सम्बन्धी सूचना तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशनको पालना गर्न र जोखिमको अवस्थामा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार