काठमाडौं, असोज ८ गते ।
काठमाडौं महानगरपालिका–११ स्थित माइतीघर मण्डला नजिक अन्नपूर्ण अस्पताल अगाडिको सडकमा रुखको हाँगा भाँचिएर सडक अवरुद्ध भएको छ ।
बिहीबार साँझ करिब ५ः४० बजे वर्षासँगै आएको हावाहुरीका कारण रुखको हाँगा भाँचिएर सडकमा खसेपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर कटिङ मेसिनको प्रयोग गरी सडकमा खसेको रुखको हाँगा काटेर पन्छाएको थियो। प्रहरीका अनुसार साँझ ६ः१० बजेसम्ममा सडकबाट अवरोध हटाई सवारी आवागमन पुनः सञ्चालन गरिएको हो ।
रुखको हाँगा भाँचिने क्रममा गुडिरहेको प्रहरी वृत्त बालाजुको बा.प्र. ०१ ग ४८४६ नम्बरको प्रिजनर क्यारियर गाडी र बा.प्र. ०१ ००३४ च ५७९० नम्बरको अर्को गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

