न्यूयोर्क, असोज ८ गते ।
प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको हो। स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको थियो ।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशीमा आएको विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो ।
गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभयो। उहाँले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाउँदै आएको सद्भाव र सहयोगका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभयो। उहाँले गुटेरेसको सफल कार्यकालका लागि शुभकामना तथा बधाईसमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो जनधनको क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो ।
भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा विपद्पछि गरिने हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक पर्ने समर्थनका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

