चितवन, असोज ९ गते ।
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै नारायणगढबाट पोखरातर्फको यातायात सञ्चालनमा आएको छ। चितवन प्रशासनले आज मध्याह्नदेखि सवारी आवागमन खुला गरेको हो ।
वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समयदेखि यातायात प्रभावित भएको थियो। पहिरो पन्छाएसँगै पोखरातर्फ जाने सवारीसाधनलाई आवागमनको अनुमति दिइएको प्रशासनले जनाएको छ ।
तर, नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं जाने तथा काठमाडौं–नारायणगढतर्फ आउने यातायात भने अझै सञ्चालनमा आउन सकेको छैन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं–नारायणगढ सडकमा यातायात रोकिएको हो। धादिङ प्रहरीले वर्षाका कारण राजमार्गको विभिन्न सात स्थानमा पहिरो गएको जनाएको छ ।
केही स्थानमा खसेको पहिरो हटाइसकिए पनि अन्य स्थानमा सडक खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ। सडक पूर्णरूपमा सुरक्षित भएपछि मात्रै काठमाडौं–नारायणगढ तर्फको यातायात सञ्चालनमा ल्याइने प्रशासनले जनाएको छ ।

