महोत्तरी, असोज ८ गते ।
पर्यटनको पुनर्संरचनाका लागि डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई जोड दिँदै महोत्तरीमा विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय स्थलको प्रवर्द्धनदेखि होटल तथा पर्यटन व्यवसायमा छुटसम्मका विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता एआई’ भन्ने मूल नाराका साथ मनाइने विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले असोज १० देखि १७ गतेसम्म जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल, मधेश प्रदेश तथा नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) मधेश प्रदेशको सहकार्यमा कार्यक्रम गर्न लागेको जनाएको छ ।
पर्यटनको पर्याप्त सम्भावना भएर पनि अपेक्षित विकास र प्रचारप्रसार हुन नसकेका महोत्तरीका ऐतिहासिक तथा प्राकृतिक स्थललाई पर्यटनको मूलधारमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष गुन्जबहादुर कार्कीले बताउनुभयो ।

महोत्तरीमा टुटेश्वरनाथ, जलेश्वरनाथ, मटिहानी, प्राचीन दुर्गा हितियार कारखाना, रोजा बजार, पडौल थान र पञ्चधुरा माइ लगायतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा रहे पनि तीमध्ये धेरै स्थल अझै पर्यटकको रोजाइमा पर्याप्त रूपमा पर्न नसकेको सङ्घको भनाइ छ ।
यस्ता पर्यटकीय गन्तव्यको प्रचारप्रसार बढाएर जिल्लाको पर्यटन बजारलाई चलायमान बनाउने उद्देश्यले विश्व पर्यटन दिवसलाई अवसरका रूपमा उपयोग गर्न लागिएको अध्यक्ष कार्कीले बताउनुभयो। उहाँका अनुसार पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सके जिल्लाका होटल, यातायात, हस्तकला तथा अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।
विश्व पर्यटन दिवसका अवसरमा असोज १० देखि १७ गतेसम्म महोत्तरी जिल्लाका पर्यटकीय होटलमा बास बस्ने पाहुनालाई बासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। पर्यटकलाई जिल्लामा केही दिन बस्ने वातावरण बनाउन छुटको व्यवस्था गरिएको सङ्घले जनाएको छ ।
कार्यक्रमअन्तर्गत पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको सिफारिसमा ‘पर्यटन पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ। यसले जिल्लाका पर्यटकीय सम्भावना र समस्यालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन सहयोग पुग्ने सङ्घको अपेक्षा छ ।
त्यस्तै, महोत्तरीको पर्यटन सम्भावना, समस्या र चुनौतीका विषयमा सरोकारवाला, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा बर्दिबास र जलेश्वरमा अन्तरक्रिया कार्यक्रम गरिनेछ। अन्तरक्रियामा जिल्लाको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा व्यवसायी र स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल गरिने जनाइएको छ ।
पर्यटकीय स्थलको प्रचारप्रसारका लागि भिडियो सामग्री तयार गरी सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट प्रचार गर्ने कार्यक्रमसमेत राखिएको छ। पर्यटकलाई स्वागत गर्ने, अतिथि सत्कारसम्बन्धी प्रतिक्रिया सङ्कलन गर्ने तथा पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाबारे जानकारी गराउने गतिविधि पनि सञ्चालन गरिने सङ्घले जनाएको छ ।
विश्व पर्यटन दिवसकै अवसरमा बर्दिबास र जलेश्वरका मुख्य चोक तथा बजार क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिने भएको छ। पर्यटनसँग सरसफाइ र वातावरणलाई जोड्दै पर्यटकमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम राखिएको हो ।
महोत्तरीका पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धनका लागि स्थानीय तह, पर्यटन व्यवसायी, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको भन्दै सङ्घले विश्व पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रम र जिल्लाको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्रीलाई व्यापक रूपमा प्रचारप्रसार गरिदिन सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।


