दाङ, असोज ९ गते ।
नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाई समिति तुलसीपुरको १२ औँ वार्षिक साधारण सभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ। सभामा सहभागी लेखापढी व्यवसायीहरूले पछिल्लो समय विभिन्न सरकारी नीति तथा निर्णयका कारण आफ्नो पेशा संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इकाई समिति तुलसीपुरका अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता तथा भूमि प्रशासन कार्यालय तुलसीपुरका प्रमुख शान्तराज गौतमको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बारका प्रतिनिधि अधिवक्ता बसन्त केसीले राज्यले लेखापढी कानुन व्यवसायीहरूको नवीकरण अदालतबाटै गर्ने व्यवस्था ल्याएकाले व्यवसायीलाई सहज हुने धारणा राखे। यस्तो व्यवस्थाले व्यवसायको आधिकारिकता कायम गर्नुका साथै सुशासन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल लेखापढी व्यवसायी एसोसिएसन लुम्बिनी प्रदेश संयोजक हरिलाल पौडेलले जेन्जी आन्दोलनपछि प्रभावित तथा अस्तव्यस्त बनेका इकाई समितिहरूलाई पुनःस्थापित र व्यवस्थित गर्न आफूहरू सक्रिय रहेको बताए ।

सरकारले मालपोत सेवा स्थानीय तहसम्म विस्तार गर्ने विषय अघि बढाइरहेको अवस्थामा लेखापढी व्यवसायीहरूमा पेशाको भविष्यलाई लिएर अन्योल सिर्जना भएको उनले बताए। मालपोत कार्यालयबाट कागजात व्यवस्थापन तथा डकुमेन्टेसनका क्षेत्रमा थप सहज व्यवस्था गरिए सेवाग्राहीलाई सेवा प्रदान गर्न व्यवसायीलाई समेत सहज हुने पौडेलको भनाइ थियो ।

प्रमुख अतिथि गौतमले कर्मचारी र लेखापढी व्यवसायीप्रति समाजमा फरक–फरक धारणा बन्ने गरेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे। कार्यालयमा पर्याप्त स्रोतसाधन र कर्मचारी जनशक्ति अभाव हुँदा राज्यले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिनाइ भइरहेको उनले बताए ।

भूमि प्रशासन कार्यालयलाई बिचौलियारहित बनाउनुपर्नेमा जोड दिँदै गौतमले त्यसका लागि लेखापढी व्यवसायीहरू पनि सचेत, जिम्मेवार र पारदर्शी हुनुपर्ने बताए। सेवाग्राहीका समस्या छिटोछरितो रूपमा समाधान गर्दै सुशासन कायम गर्न कार्यालय, व्यवसायी र सेवाग्राही सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

समाजमा केही व्यक्तिले अनावश्यक टीकाटिप्पणी तथा नकारात्मक प्रचार गर्ने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिप्रति सचेत रहन पनि आग्रह गरे ।

इकाई समितिका अध्यक्ष न्यौपानेले जेन्जी आन्दोलनबाट प्रभावित लेखापढी कानुन व्यवसायीलाई राज्यका विभिन्न कदमले थप समस्या सिर्जना गरेको गुनासो गरे। आन्दोलनका क्रममा व्यवसायीहरूले लाखौँ रुपैयाँ बराबरका भौतिक सामग्री गुमाएको अवस्थामा समेत विभिन्न बहानामा धरपकड हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा इकाई समितिका सल्लाहकार सेवकराम आचार्यले स्वागत मन्तव्य दिएका थिए भने सचिव तिलकराम शर्माले कार्यक्रम सहजीकरण गरेका थिए। साधारण सभाको उद्घाटन सत्र अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार