धादिङ, असाेज ९ गते ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४१ वर्षीया सुकुमाया चेपाङ रहेकी छन्। जिल्लामा लगातार वर्षा भइरहेका बेला खोलानाला तथा सडकमा पानीको बहाव बढेको अवस्थामा उनलाई खोलाले बगाएको हो।
लगातारको वर्षाका कारण धादिङका विभिन्न स्थानमा खोलानाला तथा सडक जोखिमपूर्ण बनेका छन्। वर्षाका कारण बाढी, पहिरो तथा खोलामा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले प्रहरीले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा जोखिमयुक्त स्थान, खोला र नदी आसपास नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, सम्भावित विपद्बाट जोगिन सुरक्षित स्थानमा रहन र मौसमको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गरिएको छ।

