बर्दिवास, असोज ११ गते ।
पर्यटन क्षेत्रका सम्भावना, संरक्षण र प्रवर्द्धनका विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकार राजकरण महतो र विशाल बस्नेत ‘पर्यटन रत्न पत्रकारिता सम्मान–२०८३’ बाट सम्मानित भएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आइतबार बर्दिवासमा आयोजना गरेको विशेष समारोहमा दुबै पत्रकारलाई सम्मान गरिएको हो ।

पब्लिक टुडे पब्लिकेशनका ग्रुप–सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो र सौर्य दैनिकका पत्रकार विशाल बस्नेतलाई नेपाल पत्रकार महासंघ महोत्तरीको सिफारिसमा सम्मान प्रदान गरिएको हो ।

समारोहमा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, संघका मधेस प्रदेश अध्यक्ष हीरालाल गौतम र बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले संयुक्त रूपमा अविर, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै दुबै पत्रकारलाई सम्मान गरे ।

महोत्तरीसहित मधेस प्रदेशमा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रको पहिचान, प्रचार–प्रसार, संरक्षण र प्रवर्द्धनका विषयलाई पत्रकारितामार्फत उजागर गरेको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको संघले जनाएको छ ।

सम्मानपत्रमा मुलुकको समृद्धि र विकाससँग पर्यटनलाई जोड्दै संरक्षण तथा सम्वर्द्धनको पर्खाइमा रहेका महोत्तरीलगायत मधेस प्रदेशका प्रमुख पर्यटकीय स्थललाई आम पर्यटक र सरकारको नजरसम्म पुर्‍याउन पत्रकारद्वयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।

‘भुइँमान्छे’लाई पत्रकारिताको मुख्य स्लोगन बनाउँदै आएका महतो लामो समयदेखि पर्यटन क्षेत्रका सम्भावना र समस्याबारे खोजी पत्रकारिता गर्दै आएका छन्। उनका समाचार तथा रिपोर्टमा स्थानीय पर्यटन क्षेत्र, पर्यटकीय स्थलको अवस्था र संरक्षणका विषयले प्राथमिकता पाउँदै आएका छन् ।

त्यस्तै, पत्रकार विशाल बस्नेतले पनि महोत्तरी तथा मधेस प्रदेशका पर्यटनसँग सम्बन्धित विषयलाई समाचारमार्फत निरन्तर उठाउँदै आएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै पर्यटनका सम्भावना तथा चुनौतीलाई निरन्तर सार्वजनिक बहसमा ल्याउने पत्रकारलाई सम्मान गरिएको जनाएको छ ।

यस वर्षको ‘पर्यटन रत्न पत्रकारिता सम्मान’ मार्फत महोत्तरीमा पर्यटन पत्रकारितालाई प्रोत्साहन गर्नुका साथै जिल्लाका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरसम्म चिनाउन सञ्चार क्षेत्रको भूमिकालाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार