धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, असाेज १२ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–स्थित गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको ११ औँ साधारण सभा सम्पन्न भएको छ। सोमबार खडैचास्थित गाउँपालिकाको सभाहलमा आयोजित साधारण सभामा वन संरक्षण, वृक्षारोपण, वन पैदावारको व्यवस्थापन तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाबीच छलफल गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक वनले नियमित रूपमा बिरुवा वितरण गर्दै आएकाले वन संरक्षणमा महत्वपूर्ण योगदान पुगेको बताए। वन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले संघ र प्रदेश सरकारबीचका कानुनी प्रावधानमा देखिएको बाझिँदो अवस्थाले वनसम्बन्धी काम गर्न कठिनाइ भइरहेको बताए ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै वन संरक्षणका गतिविधिलाई अघि बढाइरहेको बताए। वन संरक्षणसँगै वन पैदावारको उचित व्यवस्थापन र वृक्षारोपणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

जलवायु परिवर्तनका कारण देखिएका समस्या न्यूनीकरण गर्न संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने अध्यक्ष थापाको भनाइ थियो। खाली रहेका सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्नुका साथै घर–घर र व्यक्ति–व्यक्तिबाटै वृक्षारोपण अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले वन संरक्षणसँगै हरित क्रान्तिको अभियानलाई समूहले अघि बढाइरहेको बताए। खडा रुखको लिलाम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग उनले आग्रह गरे ।

कपिलवस्तुका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले साझेदारी वनलाई तीनै तहका सरकार र सरोकारवालाबीचको सहकार्यको उत्कृष्ट अभ्यासका रूपमा लिन सकिने बताए। साझेदारी वनले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, जलाधार संरक्षण तथा वन पैदावार उत्पादनमार्फत स्थानीय समुदायलाई लाभ पुर्‍याउँदै आएको उनले उल्लेख गरे ।

साधारण सभामा विजयनगर गाउँपालिका–७ का वडा अध्यक्ष दिनेशकुमार चौधरी र नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबीले पनि वन संरक्षण तथा व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।

साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वन कर्मचारी, उपभोक्ता तथा सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार