गाैशाला, असाेज १२ गते ।
प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म कार्यालयमा हाजिर नभएको भन्दै भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीवकुमार साहले नगरपालिका कार्यालयसहित नौवटै वडा कार्यालयमा तालाबन्दी गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नभएसम्म नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भइरहने भन्दै नगरप्रमुख साहले यसअघि तीन दिनभित्र समस्या समाधान गर्न संघीय सरकारलाई अल्टिमेटम दिनुभएको थियो। तोकिएको समयभित्र पनि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि सोमबार उहाँ आफैँले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्नुभएको हो ।
तालाबन्दी गरेपछि नगरप्रमुख साहले सबै कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाउनुभएको छ। उहाँले तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरी नगरपालिकाको प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह सञ्चालन गर्न माग गर्नुभएको छ ।
स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। मन्त्रालयबाट पदस्थापनसम्बन्धी पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल कार्यालयमा हाजिर नभएको नगरप्रमुख साहको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक–पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर समस्या समाधानका लागि आग्रह गर्दै आए पनि सुनुवाइ नभएको साहले बताउनुभयो। मन्त्रीसँग भेट गरेर समस्या राख्ने प्रयास गरे पनि भेट हुन नसकेको र स्वकीय सचिवमार्फत समेत जानकारी गराउँदा समस्या समाधान नभएको उहाँको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका दैनिक प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको नगरप्रमुख साहले बताउनुभयो। कर्मचारी तथा जनप्रतिनिधिको तलब–भत्ता भुक्तानीदेखि विकास निर्माणका योजना सञ्चालन र नियमित सेवा प्रवाहसम्म प्रभावित भएको उहाँको भनाइ छ ।
दसैँ नजिकिँदै गर्दा कर्मचारीलाई तलब खुवाउने विषयमा समेत समस्या उत्पन्न हुने अवस्था आएको साहले बताउनुभयो। स्थानीय तहको नियमित प्रशासनिक काम अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने भएकाले तत्काल पदपूर्ति गरी कार्यालय सञ्चालनको वातावरण बनाउन उहाँले संघीय सरकारसँग माग गर्नुभएको छ ।
नगरप्रमुख साहले समस्या तत्काल समाधान नभए नगरपालिकाको सेवा प्रवाह सहज बनाउन थप कदम चाल्ने चेतावनीसमेत दिनुभएको छ ।

