धनुषा, असाेज १२ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर अगाडि टिपरको ठक्करबाट चार वर्षीया बालिका गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन् ।
सोमबार साँझ करिब ६ः४० बजे जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्ने क्रममा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसि रामलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट बालिकाको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि उनलाई तत्काल जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि साँझ ७ः५५ बजे न्युरो अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ। उनका बुबा उपचारका क्रममा सँगै रहेका छन् ।
दुर्घटनापछि स्थानीयवासी आक्रोशित हुँदै टिपरमा तोडफोड गरेका थिए। घटनास्थलको अवस्था नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक केशव गौतमको कमान्डमा २५ जना तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो ।
घटनापछि प्रहरीले टिपर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ निवासी ३६ वर्षीय उमेश सिंह दनुवार र सहचालक महोत्तरीको भंगाहा नगरपालिका–९ निवासी १८ वर्षीय शम्भु कुमार यादवलाई नियन्त्रणमा लिएको छ । दुबै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

