काठमाडौं, असाेज १४ गते ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले साढे २८ वर्ष लामो निजामती सेवा पूरा गर्दै सरकारी सेवाबाट अवकाश लिएका छन्। विशिष्ट श्रेणीअन्तर्गत सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।
सिग्देलको अवकाशका अवसरमा पूर्वाधार विकास मन्त्रालयमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभागीय मन्त्री सुनील लम्साल सहित मन्त्रालयका उच्च अधिकारी तथा कर्मचारीहरूको सहभागिता थियो ।
बिदाइ कार्यक्रममा मन्त्री लम्सालले सिग्देलले पूर्वाधार विकासका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै राष्ट्रसेवामा उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। मन्त्री लम्सालले सिग्देलको अवकाशपछिको जीवन सुखद रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
तनहुँमा जन्मिएका सिग्देलले पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले जर्मनीबाट जलस्रोत विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका हुन् ।
सिग्देलले २०५५ साल वैशाख १५ गते सिँचाइ विभागमा इन्जिनियरका रूपमा सरकारी सेवाको यात्रा सुरु गरेका थिए। इन्जिनियरबाट सेवा सुरु गरेका उनले निजामती सेवामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सचिव तहसम्मको यात्रा तय गरेका हुन् ।
सेवाकालमा उनले सडक विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हाले। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, जल तथा ऊर्जा आयोग र पूर्वाधार विकास मन्त्रालयमा सचिवका रूपमा काम गरेका थिए।
लामो समय पूर्वाधार तथा विकास प्रशासनमा जिम्मेवारी सम्हालेपछि सिग्देलको अनिवार्य अवकाशसँगै उनको निजामती सेवाको यात्रा औपचारिक रूपमा टुंगिएको छ ।

