काठमाडौँ, असाेज १४ गते ।
बाढीपहिरोबाट ठूलो क्षति व्यहोरेका बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न प्रतिनिधिसभामा माग गरिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले असोज ८ देखि ११ गतेसम्म आएको भीषण बाढीपहिरोका कारण बागलुङ र म्याग्दीका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुगेको बताइन् ।
उनका अनुसार बागलुङमा मात्रै १३ जनाको ज्यान गएको छ भने सयौँ घर, गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको छ। बाढीपहिरोका कारण ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोटलगायत क्षेत्र बढी प्रभावित भएका छन् ।
विपत्तिपछि पाँच दिन बितिसक्दा पनि कतिपय प्रभावित क्षेत्रमा सडक, विद्युत्, खानेपानी र सञ्चार सेवा नियमित हुन नसकेको सांसद शर्माले बताइन्। सञ्चार सम्पर्क विच्छेद हुँदा केही बस्ती अझै बाहिरी क्षेत्रसँग सम्पर्कविहीन रहेको र दैनिक उपभोग्य सामग्रीको अभाव बढ्दै गएको उनको भनाइ छ ।
बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुंगाको पुलमा समेत क्षति पुगेकाले यातायात तथा राहत सामग्री ढुवानीमा समस्या भएको उनले संसदलाई जानकारी गराइन् ।
सांसद शर्माले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सडक, विद्युत्, खानेपानी र सञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन् ।
साथै, भोटेकोशी बाढी प्रभावितका लागि उपलब्ध गराइएको राहत प्याकेजकै प्रकृतिको विशेष राहत कार्यक्रम बागलुङका लागि समेत घोषणा गर्नुपर्ने माग गरिन्।

