मनाङ, असाेज १४ गते ।
मनाङको चामे क्षेत्रमा बाढीपहिरोसँगै घट्टेखोलाबाट बगेर आएको लेदो, ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा आंशिक रूपमा थुनिएको मर्स्याङ्दी नदीको धार खुलाउने प्रयास जारी छ ।
नदी थुनिएपछि बनेको तालबाट पानी भने आंशिक रूपमा निकास भइरहेको छ। तर नदीको बहाव अझै पुरानै अवस्थामा फर्किन नसकेको प्रशासनले जनाएको छ। नदीले पुरानो धार परिवर्तन गरी पुलको दायाँ–बायाँबाट पानी बग्न थालेपछि चामे बजार आसपासका बस्ती तथा संरचनामा जोखिम बढेको छ ।
नदीमा थुप्रिएको गेग्र्यान हटाउन एक्साभेटरलगायतका उपकरण परिचालन गरिएको छ। पानीको बहावलाई पुरानै धारतर्फ फर्काउने उद्देश्यले नदीको मार्ग फराकिलो बनाउने काम भइरहेको प्रशासनले जनाएको छ ।
ठूला चट्टान हटाउन ब्लास्टिङ गर्ने विकल्पबारे समेत अध्ययन गरिएको थियो। तर उपयुक्त चट्टान पहिचान हुन नसकेपछि तत्काल ब्लास्टिङको काम अघि बढ्न सकेको छैन। नदीको बहावलाई सुरक्षित रूपमा व्यवस्थापन गर्दै पुल तथा आसपासका घरमा थप क्षति हुन नदिन उद्धार तथा व्यवस्थापन कार्यलाई प्राथमिकता दिइएको छ ।
नदीको धार परिवर्तन भएपछि चामे बजार आसपासका केही घर डुबानमा परेका छन् भने पुल र आसपासका संरचनासमेत जोखिममा छन्। मर्स्याङ्दी नदी पूर्ण रूपमा आफ्नो धारमा नफर्किएसम्म पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
यसैबीच, बाढीपहिरोका कारण मनाङका विभिन्न क्षेत्रमा सडक, विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएका छन्। नदीको बहाव र मौसमको अवस्था हेरेर थप जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेका छन् ।

