गाैशाला, असाेज १४ गते ।
बालबालिकासँग सम्बन्धित विषयवस्तुको समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, बालअधिकारको संरक्षण तथा मिडियाको पैरवी भूमिकाबारे सञ्चारकर्मीहरूबीच अन्तरक्रिया गरिएको छ ।

सेभ द चिल्ड्रेनको आयोजनामा बुधबार बर्दिबासस्थित गौतम होटलमा ‘Interaction with Journalists on Child-Sensitive Reporting and Media Advocacy’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा महोत्तरी र सर्लाही जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकासम्बन्धी समाचार, रिपोर्ट तथा अन्य सञ्चार सामग्री तयार गर्दा उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा छलफल गरिएको थियो। बालबालिकाको पहिचान, व्यक्तिगत विवरण तथा तस्बिर सार्वजनिक गर्दा अपनाउनुपर्ने सावधानी, पीडित तथा प्रभावित बालबालिकाको गोपनीयता कायम गर्ने अभ्यास र समाचारका कारण बालबालिकामा पर्न सक्ने सम्भावित असरबारे सहभागीहरूबीच छलफल भएको थियो ।

त्यस्तै, बालबालिकासँग अन्तर्वार्ता लिँदा अपनाउनुपर्ने व्यवहार, उनीहरूको आवाजलाई सम्मानपूर्वक प्रस्तुत गर्ने तरिका तथा बालबालिकासम्बन्धी संवेदनशील घटनामा समाचारको भाषा र प्रस्तुति कसरी जिम्मेवार बनाउने भन्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा बालअधिकारसँग जोडिएका विषयलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिइएको थियो। बालबालिकाका समस्या र सवाललाई समाचारमा सीमित नराखी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र नीतिगत तथा व्यवहारिक परिवर्तनका लागि मिडिया पैरवीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

सञ्चारमाध्यमले बालबालिकाको आवाजलाई सम्बन्धित निकाय, नीति निर्माता तथा समुदायसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले समाचार सम्प्रेषणमा तथ्यपरकता, जिम्मेवारी र संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रमले सर्लाही र महोत्तरीका सञ्चारकर्मीहरूलाई बालसंवेदनशील रिपोर्टिङका आधारभूत अभ्यास, चुनौती र मिडियाको पैरवी भूमिकाबारे अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार