जनकपुरधाम, असाेज १४ गते ।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवको सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको छ ।
रामकिशोर यादवका एक मात्र छोरा महेशलाई मंगलबार राति करिब साढे १२ बजे विषालु सर्पले टोकेको परिवारले जनाएको छ। सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि मधेश प्रदेशकै प्रमुख स्वास्थ्य संस्था मानिने प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
अस्पताल पुर्याएपछि उनको उपचार सुरु गरिएको थियो। तर उपचारका क्रममा स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको परिवारको भनाइ छ। राति करिब २ बजे चिकित्सकले महेशलाई सघन उपचार कक्ष (आईसीयू) वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।
तर अस्पतालमा आईसीयू तथा भेन्टिलेटर खाली नभएको भन्दै उनलाई थप उपचारका लागि अन्यत्र लैजान भनिएको परिवारले जनाएको छ। त्यसपछि महेशलाई सर्पदंश उपचार केन्द्रतर्फ लगिएको थियो । सर्पदंश उपचार केन्द्रमा पुर्याएपछि चिकित्सकले महेशलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।
घटनापछि परिवारजनले प्रादेशिक अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्तिको पर्याप्त व्यवस्था हुन नसक्दा गम्भीर बिरामीले समयमै उपचार पाउन नसकेको गुनासो गरेका छन्। उनीहरूले प्रदेशको प्रमुख अस्पतालमा आईसीयू, भेन्टिलेटर र आवश्यक जनशक्ति पर्याप्त हुनुपर्ने माग गरेका छन् ।
यता, महेशको मृत्युको वास्तविक कारण, अस्पतालमा उपचारका क्रममा अपनाइएको प्रक्रिया तथा आईसीयू र भेन्टिलेटर उपलब्ध नभएको विषयमा सम्बन्धित अस्पताल प्रशासनको आधिकारिक धारणा भने आउन बाँकी छ ।

