गौशाला, असाेज १४ गते ।
गौशाला नगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच स्थानीय तह सञ्चालन तथा विकासका विषयमा अनुभव आदानप्रदान एवं परिचयात्मक भेटघाट सम्पन्न भएको छ ।

गौशाला नगरपालिकाको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीलगायत जनप्रतिनिधि तथा पदाधिकारीहरूको टोली सहभागी भएको थियो। टोलीसँग गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो, उपप्रमुख रेणु कुमारी तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले भेटघाट तथा अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका उत्कृष्ट अभ्यास, सेवा प्रवाह, विकास निर्माण, प्रशासनिक व्यवस्थापन तथा स्थानीय सरकारबीचको पारस्परिक सहकार्यका विषयमा छलफल भएको थियो। दुवै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले आ–आफ्नो पालिकामा भइरहेका अभ्यास र अनुभवबारे जानकारी आदानप्रदान गरेका थिए ।

स्थानीय तहबीच हुने यस्ता अन्तरपालिका संवाद तथा अनुभव आदानप्रदानले एकअर्काका सफल अभ्यासबाट सिक्दै स्थानीय शासन, सेवा प्रवाह र विकास कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गौशाला नगरपालिकाले पाँचपोखरी थाङपाल गाउँपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरूको टोलीलाई स्वागत गर्दै आगामी दिनमा समेत आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार