सिरहा, असोज १५ गते ।
भारत–नेपाल सीमा सुरक्षा तथा सीमा–पार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा सशस्त्र सीमा बल (SSB) भारत र सशस्त्र प्रहरी बल (APF) नेपालका वरिष्ठ सुरक्षा अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ ।

धनुषाको पिपरौन–जटहीस्थित नो म्यान्स ल्यान्डमा बिहीबार आयोजित बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा दुई देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा सीमा–पार अपराध, लागुऔषधको ओसारपसार, मानव तस्करी तथा प्रतिबन्धित वस्तुको अवैध कारोबार नियन्त्रणका साथै सीमा स्तम्भको मर्मतसम्भार, संयुक्त गस्ती सञ्चालन र नो म्यान्स ल्यान्डलाई अतिक्रमणमुक्त राख्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल नेपालका आईजी नारायणदत्त पौडेल, धनुषाका डीआईजी विष्णुप्रसाद भट्ट, एसपी भीमबहादुर बिष्ट तथा SSB जयनगरका कमान्डेन्ट राजेन्द्रकुमारसहित दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

छलफलका क्रममा आगामी चाडपर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाउने, सम्भावित आपराधिक गतिविधिबारे वास्तविक समयमै सूचना आदान–प्रदान गर्ने तथा संयुक्त रूपमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने सहमति भएको छ ।

दुबैपक्षले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न नियमित समन्वय, सूचना आदान–प्रदान तथा आवश्यकताअनुसार संयुक्त गस्तीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार