गाैशाला, असाेज १५ गते ।
महोत्तरीको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले गाउँपालिकाका विभिन्न वडामा निर्माण तथा स्तरोन्नति गरिएको कृषि सडकबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
अध्यक्ष यादवले गाउँपालिकाका वडा नं. १ देखि ८ सम्म किसानको खेतबारीसम्म सहज पहुँच पुर्याउने उद्देश्यले कृषि सडक निर्माण तथा स्तरोन्नतिको काम गरिएको जानकारी दिए। कृषि उत्पादनलाई बजारसम्म पुर्याउन तथा किसानलाई आवश्यक कृषि सामग्री खेतसम्म लैजान सहज होस् भन्ने उद्देश्यले सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उनले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वडा नं. १ देखि ८ सम्म सञ्चालन गरिएका कृषि सडकसम्बन्धी योजनाको प्रगति, निर्माणको अवस्था तथा स्थानीय किसानलाई पुग्ने लाभबारे जानकारी गराएका थिए। ग्रामीण तथा कृषि क्षेत्रमा सडक पहुँच विस्तार भएपछि किसानको दैनिक आवागमनसँगै कृषि उपजको ओसारपसारमा समेत सहजता आउने उनको भनाइ थियो ।
उनले वर्षायाममा खेतबारीसम्म पुग्न किसानले भोग्दै आएको समस्या कम गर्न कृषि सडकको स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइएको बताए। कृषि सडक निर्माणले गाउँका विभिन्न बस्ती तथा खेतीयोग्य जमिनलाई मुख्य सडकसँग जोड्नसमेत सहयोग पुग्ने अध्यक्ष यादवले उल्लेख गरे ।
सोनमा गाउँपालिकाका सबै वडा समेटिने गरी कृषि सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको जानकारी दिँदै अध्यक्ष यादवले स्थानीय आवश्यकता र किसानको मागका आधारमा आगामी दिनमा थप सडक निर्माण तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कृषि सडक निर्माण भएपछि किसानलाई खेतसम्म पुग्न, बीउ, मल तथा कृषि सामग्री ओसारपसार गर्न र उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन सहज हुने गाउँपालिकाले जनाएको छ ।

