दमक, असाेज १५ गते ।
नेपाल प्रहरीमा तीन दशक लामो सेवा पूरा गरेका प्रहरी नायव निरीक्षक (सई) रोशन प्रसाद राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले सम्मानसहित बिदाइ गरेको छ ।
प्रहरी नियमावली, २०७१ बमोजिम ३० वर्षे सेवा अवधि पूरा भएपछि राजवंशी अनिवार्य अवकाशमा गएका हुन्। उनले विसं २०५३ साल असोज १६ गते प्रहरी जवान पदबाट नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए ।
सेवा अवधिभर राजवंशीले नेपाल प्रहरीका विभिन्न युनिट तथा कार्यालयमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए। प्रहरी जवानबाट सुरु भएको उनको सेवायात्रा विभिन्न पदमा पदोन्नति हुँदै प्रहरी नायव निरीक्षक (सई) सम्म पुगेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा आयोजित बिदाइ कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अधिकृत तथा सहकर्मीहरूले राजवंशीले लामो समयसम्म संगठनप्रति पुर्याएको योगदानको स्मरण गरेका थिए। कार्यक्रममा सहकर्मीहरूले उनलाई खादा तथा अबिर लगाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए ।
कार्यक्रममा राजवंशीको कर्तव्यनिष्ठा, अनुशासन र लामो सेवाकालको प्रशंसा गर्दै आगामी अवकाशप्राप्त जीवन सुखद, स्वस्थ, फलदायी तथा पारिवारिक रूपमा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो ।
तीन दशकसम्म नेपाल प्रहरीको सेवामा रहेर जिम्मेवारी पूरा गरेका राजवंशीले औपचारिक सेवाबाट अवकाश लिए पनि समाज र राष्ट्रप्रतिको योगदान निरन्तर रहने विश्वास व्यक्त गरिएको छ ।


