काठमाडौँ, असोज १५ गते ।
नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासङ्घलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सांसद खत्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।
खत्रीले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रेस काउन्सिललाई धम्क्याउने व्यक्ति ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको अभिव्यक्ति दिएका थिए ।
महासङ्घले उक्त अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रको अपमान भएको जनाएको छ। महासङ्घले सांसद खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमा याचना गर्न आग्रह गरेको छ।
त्यस्तै, विवादित अभिव्यक्ति प्रतिनिधि सभाको अभिलेखबाट हटाउन सभामुखसमक्ष माग गरिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारलाई ध्यानमा राख्नुपर्ने भन्दै महासङ्घले पत्रकार र प्रेस जगतप्रति धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सांसद खत्रीलाई सम्बन्धित निकायबाट कारबाहीको दायरामा ल्याउनसमेत माग गरेको छ ।
महासङ्घले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत मर्यादा तथा सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

